काठमाडौं :- भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठेवासीखोरा–बालङ्खा–रानीटार सडकको स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहमाथि कार्यरत कामदारहरूको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका शाहलाई थप उपचारका लागि विराटनगर पठाइएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार घटनाको अनुसन्धानका लागि प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटीलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले घटनाको दुवै पक्षबाट विवरण संकलन गरिरहेको जनाएको छ। अनुसन्धानपछि प्राप्त तथ्यका आधारमा कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने बताइएको छ।
यस्तै, कार्यक्षेत्रमै प्राविधिकमाथि भएको आक्रमणले सुरक्षामा चुनौती थपिएको भन्दै पूर्वाधार विकास कार्यालय भोजपुरले घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेको छ।










