काठमाडौं :- नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोलमार्फत निष्कासन गर्न लागेको जनाएको हो।
ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ। यसको साँवा भुक्तानी २०८४ असार १६ गते हुने राष्ट्र बैंकले जनाएको छ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।
यस ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। लगानीकर्ताले न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, पाँच करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।










