काठमाडौं :- राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिको आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
२३औँ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण कृषकहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन्।
राष्ट्रपति पौडेलले कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न सके विदेश पलायन भइरहेका जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सकिने तथा कृषिलाई आकर्षक पेशाका रूपमा विकास गर्दै धान र चामलको आयात घटाउन सकिने उल्लेख गरे।
उनले श्रमको सम्मान गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउँदै कृषि केवल जीविकोपार्जनको माध्यम नभई व्यावसायिक पेशाका रूपमा अघि बढाउन सबैलाई आह्वान गरे। साथै, त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति र कार्यक्रममार्फत सहयोग गर्नुपर्ने बताए।
राष्ट्रपति पौडेलले असार १५ नेपाली कृषि संस्कृतिसँग जोडिएको विशेष दिन भएको उल्लेख गर्दै हिलोमा धान रोप्ने र दही–चिउरा खाने परम्पराले यस दिनलाई अझ विशेष बनाएको स्मरण गरे।
नेपालको धानखेती अझै वर्षामा निर्भर रहेको उल्लेख गर्दै उनले धानखेतीयोग्य सबै क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए।
देशमा बढ्दो कृषि परनिर्भरतालाई घटाउँदै धान उत्पादन वृद्धि, कृषि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाइँदै आएको छ।










