काठमाडौं :- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न महाधिवेशनबाट पारित दस्ताबेजहरूले लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनालाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले लोकप्रियताको आवरणमा आएका केही विचारले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिए।
‘लोकप्रियताको घुम्टोले छोपिएर आएको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई ‘सेबोटेज’ गर्न खोज्दैछ, यसमा हामी सचेत हुनुपर्छ,’ उनले भने।
दुलालले निर्वाचनका बेला प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने प्रतिबद्धता जनाएर मत माग्ने, तर निर्वाचनपछि तिनै संरचना खारेज गर्ने नीति लिनु जनताप्रति बेइमानी भएको टिप्पणी गरे।
उनले प्रदेशको अस्तित्वबिना सङ्घीयता सम्भव नहुने उल्लेख गर्दै, ‘प्रदेशको उपस्थिति बिना सङ्घीयता रहँदैन भन्ने आधारभूत ज्ञान नहुनेले राजनीति पढेर मात्र राजनीति गर्न आउनुस्,’ भने।










