काठमाडौं :- नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि असार १६ गते सुनुवाइ हुने भएको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने तथा असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो, जहाँ अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। हाल उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।










