काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएका छन्।
सामाजिक सञ्जालमार्फत शुक्रबार उनले पार्टीको बृहत् एकता, आपसी समझदारी र संगठनको हितलाई सर्वोच्च प्राथमिकता दिँदै उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।
बुर्लाकोटीले एउटै पदका लागि धेरै उम्मेदवारबीच प्रतिस्पर्धा गर्नु आफ्नो चाहना नभएको उल्लेख गर्दै राष्ट्र निर्माणका लागि एकजुट हुनुपर्ने समयमा पार्टीभित्र विभाजनको अवस्था सिर्जना हुन नदिन आफू पछि हटेको बताएका छन्।
उनका अनुसार पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी केन्द्रीय पदाधिकारी निर्वाचनमा सहमतिको वातावरण निर्माण होस्, सकारात्मक सोच र बृहत् एकताको भावना प्रवर्द्धन होस् भन्ने उद्देश्यले व्यक्तिगत तथा पार्टीका शुभचिन्तकसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिने निर्णय गरिएको हो।










