काठमाडौं :- परराष्ट्र मन्त्रालयले गत जेठ महिनामा सम्पन्न भएका गतिविधि र उपलब्धिहरू समेटेर ४९ बुँदे प्रगति विवरण सार्वजनिक गरेको छ। विवरणमा परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणदेखि कूटनीतिक, कन्सुलर तथा प्रशासनिक सेवासम्बन्धी कार्यहरू समावेश छन्।
मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए। भ्रमणका क्रममा विकास सहकार्य, व्यापार, ऊर्जा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा द्विपक्षीय वार्ता भएको थियो।
त्यसैगरी, चीनका विदेशमन्त्रीको निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ देखि असार ३ गतेसम्म चीनको चारदिने औपचारिक भ्रमण गरेका थिए। उक्त भ्रमण पनि मन्त्रालयको प्रमुख गतिविधिमध्ये एकका रूपमा उल्लेख गरिएको छ।
जेठ १२ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौंस्थित युरोपेली संघ (ईयू) तथा विभिन्न युरोपेली मुलुकका राजदूत एवं नियोग प्रमुखहरूको संयुक्त शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रमको तयारी, समन्वय र सहजीकरण परराष्ट्र मन्त्रालयले गरेको जनाएको छ।
संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले आयोजना गरेको अन्तरक्रियामा परराष्ट्रमन्त्री र परराष्ट्र सचिव सहभागी भई मन्त्रालयका प्राथमिकता, कार्यक्रम तथा द्विपक्षीय र बहुपक्षीय कूटनीतिक गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए।
मासिक प्रतिवेदनमा भारत–नेपाल सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रयाससमेत समेटिएको छ। जेठ २८ र २९ गते काठमाडौंमा सम्पन्न नेपाल–भारत रेल क्षेत्रसम्बन्धी प्राविधिक बैठकहरूमा सीमापार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति र आगामी योजनाबारे समीक्षा गरिएको मन्त्रालयले जनाएको छ।
कन्सुलर सेवातर्फ, प्राप्त निवेदनका आधारमा १९ वटा गैरआवासीय नेपाली परिचयपत्र जारी गरिएको छ। कन्सुलर सेवा विभागबाट ७५ हजार ४५३ वटा कागजात प्रमाणीकरण गरिएको विवरणमा उल्लेख छ।
त्यसैगरी, विदेशमा रहेका १२२ नेपाली नागरिकको उद्धार तथा क्षतिपूर्ति प्रक्रियाका लागि सहजीकरण गरिएको छ भने विदेशमा मृत्यु भएका २२ नेपालीको शव व्यवस्थापनका लागि सम्बन्धित नेपाली नियोगहरूसँग समन्वय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जेठ महिनाभर राहदानी विभाग, नेपाली नियोग तथा जिल्ला/इलाका प्रशासन कार्यालयमार्फत कुल १ लाख १ हजार ३३० वटा राहदानी जारी गरिएको छ।










