काठमाडौं :- धितोपत्र बजारमा मंगलबार नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ६७४ दशमलव ४८ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ३१ अंकले घट्दै ४६१ दशमलव ४८ विन्दुमा सीमित भएको छ।
आज ३५३ कम्पनीका एक करोड ४० हजार १६४ कित्ता शेयर चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँ बराबरमा खरिद–बिक्री भएका छन्। कारोबार भएका कम्पनीहरूमध्ये २२ कम्पनीको शेयर मूल्य बढेको, २३९ कम्पनीको मूल्य घटेको तथा ११ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रहेको छ। त्यसपछि सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट तथा बुङ्गल हाइड्रोपावरको कारोबार उच्च रह्यो।
आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ र सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।
यता बुङ्गल हाइड्रोपावर, अपोलो हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका शेयरधनीले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।










