काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम र योग्य नेतृत्व चयन गर्ने उद्देश्यले महाधिवेशन निर्वाचन प्रक्रियामा कडा मापदण्ड लागू गरेको छ।
निर्वाचन कार्यतालिकाअनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनका लागि एक जना प्रस्तावक अनिवार्य गरिएको छ। सभापति पदका उम्मेदवारले भने ५१ जना समर्थक जुटाउनुपर्ने व्यवस्था गरिएको छ भने अन्य पदका लागि २१/२१ जना समर्थक आवश्यक पर्ने नियम बनाइएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रस्तावक र समर्थक दुवै उम्मेदवार स्वयं हुन नपाउने व्यवस्था गरिएको जानकारी दिँदै नेतृत्व विकास भएका सक्षम व्यक्तिलाई जिम्मेवारीमा ल्याउने उद्देश्यले यस्तो प्रावधान राखिएको बताए।
उनका अनुसार देशकै ठूलो राजनीतिक शक्ति बन्ने लक्ष्य राखेको रास्वपाको संगठन सञ्चालनका लागि क्षमतावान र योग्य नेतृत्व आवश्यक भएकाले छनोट प्रक्रियालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाइएको हो।
केसीले संगठन विस्तारमा सक्रिय भूमिका खेलेका व्यक्तिहरूलाई समर्थक जुटाउन सहज हुने र नेतृत्वमा पुग्ने सम्भावना पनि बढी रहने उल्लेख गरे।
रास्वपाको बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुने जनाइएको छ।










