काठमाडौं :- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ७६ चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व संकलन भएको छ।
कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने ९३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ११७ जना तथा तीव्र गतिमा सवारी चलाउने २२८ जना रहेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने १२९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५७ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ९० जना, एकतर्फी सडक नियम उल्लङ्घन गर्ने ८८ जना तथा अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार १८६ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।










