काठमाडौं :- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको एक–एक घण्टाको उतारचढावमा ध्यान नदिई दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएका छन्।
संघीय संसदको प्रतिनिधि सभामा बोल्दै उनले तत्कालीन बजार सूचकको सट्टा दूरगामी आर्थिक नीतिहरूमा काम भइरहेको स्पष्ट पारे। उनले भने, “एक–एक घण्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ, युग–युगका लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ।”
उनका अनुसार सेयर बजार र बीमा क्षेत्रमा विगतमा भएका अनियमितताका कारण सुधार प्रक्रिया अघि बढाइएको छ। त्यसैको असरस्वरूप केही लगानीकर्तामा अनुसन्धानमा तानिन सक्ने त्रास रहेको उनले बताए।
वाग्लेले सुशासनका प्रयासहरूका कारण विगत १०–१५ वर्षका व्यवहार र नियतसम्बन्धी प्रश्नले लगानीकर्तामा “पर्ख र हेर” अवस्था सिर्जना भएको उल्लेख गरे।
तर बजेटका लक्ष्यअनुसार नतिजा आउन थालेपछि निजी क्षेत्रको आत्मबल बढ्ने र अर्थतन्त्रमा विश्वास पुनः स्थापित हुने उनले दाबी गरे।










