काठमाडौं :- चिनियाँ कम्पनी हुवावेको एसिया–प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ।
मन्त्रालयमा भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसलाई सफल बनाउन हुवावेसँग आवश्यक प्रविधि, अनुभव र स्रोत उपलब्ध रहेको बताए। उनले नेपाल सरकारले अघि बढाएको ‘डिजिटल नेपाल’ अभियानलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा सहकार्य गर्न कम्पनी तयार रहेको जानकारी दिए।
हुवावेले दूरसञ्चार पूर्वाधार आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, डेटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको उल्लेख गर्दै यी क्षेत्रमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न इच्छुक रहेको जनाएको छ।
भेटमा मन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै देशभर गुणस्तरीय र भरपर्दो सेवा विस्तार गरिने जानकारी दिए।
नेपालमा हुवावेले लामो समयदेखि पूर्वाधार निर्माण तथा प्राविधिक सहयोग दिँदै आएको उल्लेख गर्दै उनले सेवाको गुणस्तर र कार्यसम्पादनमा प्रश्न उठ्ने अवस्था आउन नहुने बताए। समस्या देखिए तत्काल समाधान गर्न र पारदर्शिता तथा कार्यकुशलतालाई उच्च प्राथमिकतामा राख्न उनले आग्रह गरे।
नेपाल टेलिकमसँगको सहकार्यको सन्दर्भमा नागरिक गुनासो समाधानका लागि समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले सेवाग्राहीलाई गुणस्तरीय सेवा सुनिश्चित गर्न दुवै पक्ष जिम्मेवार बन्नुपर्ने बताए।
साथै, नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै उनले बिचौलिया प्रणालीलाई स्थान नदिई नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।










