काठमाडौं :- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै त्यसबारे प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने बताए। साथै, उक्त भनाइ सच्याएर संसद्को रेकर्डबाट हटाउनुपर्ने उनको माग थियो।
साम्पाङले नेपालमा रहेका भुटानी शरणार्थीहरूको समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए। दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकको स्वदेश फिर्ती वा तेस्रो मुलुकमा रहेका परिवारका सदस्यसँग पुनर्मिलनको माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने उनले बताए।
“आफ्नो देश छोडेर शरणार्थीका रूपमा बाँच्न बाध्य मानिसहरूको अवस्थाबारे पनि हामीले सोच्नुपर्छ। उनीहरूलाई स्वदेश फिर्ता पठाउने पहल गरियोस्, नभए परिवारसँग पुनर्मिलनका लागि अन्य मुलुक पठाउने व्यवस्था मिलाइयोस्,” उनले भने।
त्यसैगरी, रक्षा मन्त्रालयअन्तर्गतको बजेट छलफलमा विभागीय मन्त्री अनुपस्थित रहेको र मन्त्रालयको बजेट पुस्तिका (रेड बुक) समेत सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।










