काठमाडौं :- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजेटको आकार सानो भएकै कारण शिक्षा क्षेत्रको सुधार प्रभावित नहुने बताएका छन्।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले शिक्षा सुधारका सबै काम बजेटमै निर्भर नहुने उल्लेख गरे। “शिक्षा क्षेत्र सुधार गर्न सबै कामका लागि बजेट आवश्यक पर्दैन। बजेट विनियोजन कम भएकै कारण शिक्षा सुधार हुँदैन भन्न मिल्दैन,” उनले भने।
मन्त्री पोखरेलले शिक्षकहरूको तलब तथा तालिम खर्च चालु बजेटअन्तर्गत पर्ने भएकाले पुँजीगत विनियोजन अपेक्षाकृत कम देखिएको स्पष्ट पारे। उनले सबै माध्यमिक विद्यालयमा स्मार्टबोर्ड जडान गर्ने लक्ष्यसहित सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए।
विद्यालय शिक्षा स्थानीय तहको प्रमुख जिम्मेवारी भएकाले स्थानीय सरकारले पनि पर्याप्त लगानी गर्नुपर्ने उनको भनाइ थियो।
संसदमा न्यून विद्यार्थी संख्या भएका विद्यालय गाभ्ने विषय उठेको सन्दर्भमा मन्त्री पोखरेलले विद्यार्थी संख्या कम भएकै आधारमा कुनै पनि विद्यार्थीलाई शैक्षिक अधिकारबाट वञ्चित नगरिने स्पष्ट पारे। उनले भौगोलिक अवस्था, पहुँच र विद्यार्थी संख्यालगायत पक्षलाई ध्यानमा राखेर मात्रै आवश्यक निर्णय गरिने बताए।
आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयहरूको भौतिक अवस्था तथा विद्यार्थी संख्याको विस्तृत सर्वेक्षण गरी त्यसको प्रतिवेदनका आधारमा बजेट तथा नीतिगत व्यवस्था गरिने पनि उनले जानकारी दिए।










