काठमाडौं :- प्रतिनिधिसभाको बुधबारको बैठकमा विभिन्न दलका सांसदहरूले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे स्पष्ट पार्न र आवश्यक परे सच्याउन माग गरेका छन्।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिन आग्रह गर्दै काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।
नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदमा आएर आफ्नो धारणा सच्याउनुपर्ने र सभामुखले यस विषयमा रुलिङ गर्नुपर्ने माग गरे। उनले मन्त्रीहरूबाट पनि गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भइरहेको भन्दै त्यस्ता व्यक्तिलाई जिम्मेवार बनाउनुपर्ने बताए।
एमाले सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायत क्षेत्रमा नेपालको भूमि अतिक्रमण भएको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे। उनले सुकुम्बासीलाई राखिएको होल्डिङ सेन्टरमा मानवोचित व्यवहार नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने बताए। सभामुखको भूमिकासम्बन्धी उनको अभिव्यक्तिमा रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।










