काठमाडौं :- नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा हुने २०औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले बजेट अभावका कारण महिला टोली प्रतियोगिताबाट वञ्चित हुन सक्ने समाचारप्रति चिन्ता व्यक्त गरे। भिसा प्रक्रियाका लागि खेलाडीहरूको राहदानीसमेत सङ्कलन भइसकेको अवस्थामा बजेटलाई कारण देखाएर सहभागिता रोक्नु खेलाडी र खेलकुद क्षेत्रमाथिको अन्याय हुने उनको भनाइ थियो।
महरले प्रधानमन्त्रीको सामाजिक सञ्जालको कभर फोटोमा महिला फुटबल टोलीको तस्बिर रहेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा पनि प्रतिबिम्बित गर्न आग्रह गरे। उनले महिला खेलाडीप्रति देखाइएको सम्मान बजेट विनियोजनमार्फत पुष्टि हुनुपर्नेमा जोड दिए।
यसैगरी, उनले सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताको टेलिभिजन प्रसारणका लागि नेपाली दर्शकबाट ९९९ रुपैयाँ अतिरिक्त शुल्क लिने व्यवस्थाप्रति पनि आपत्ति जनाए। अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपका खेलहरू आम नेपाली दर्शकले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा हेर्न पाउने व्यवस्था गर्न सरकारसँग उनले माग गरे।










