काठमाडौं :- नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दूरदराजका क्षेत्र र विपन्न वर्गलाई उपेक्षा गरेको आरोप लगाएका छन्।
आज प्रतिनिधि सभामा मन्त्रालयगत छलफलका क्रममा बोल्दै उनले बझाङ, अछाम, दार्चुला, बाजुरा, हुम्ला र जुम्लाजस्ता विकट जिल्लाहरूलाई बजेटले समेट्न नसकेको बताए।
उनका अनुसार बजेटले केवल दूरदराज मात्र होइन, गरिब, पिछडिएको वर्ग, दलित, बालबालिका र महिलाका आवश्यकतासमेत पर्याप्त रूपमा सम्बोधन गर्न सकेको छैन। उनले बजेटलाई “गैरजिम्मेवार र हावाभरिएको बेलुन जस्तो” भन्दै जनमतको अपमान गरिएको टिप्पणी गरे।
महरले विकासे मन्त्रालयहरूमा केही सकारात्मक पहल भए पनि बजेट सहरकेन्द्रित भएको उल्लेख गरे। भौतिक पूर्वाधारको बजेट विकास पछाडि परेका ग्रामीण तथा विकट क्षेत्रमा केन्द्रित हुनुपर्नेमा त्यसको विपरीत वितरण गरिएको उनको भनाइ थियो।
उनले सहरीकरणसँग जोडिने क्षेत्रहरूमा समेत उचित बजेट विनियोजन नभएको भन्दै अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटलाई विभेदकारी भएको आरोप लगाए। साथै, यो बजेटलाई कम्युनिष्ट मूल्य–मान्यतासँग मेल नखाने पनि उनले टिप्पणी गरे।










