काठमाडौँ :- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिँदा तोकिएको शुल्कभन्दा बढी रकम मागिए प्रमाणसहित उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेका छन्।
उनले मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन अनुरोध गर्दै सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेपछि गुनासो सुनुवाइ र शीघ्र समाधानलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले चैत १३ गते कार्यभार सम्हालेयता हटलाइनमार्फत प्राप्त १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको छ। प्राप्त गुनासामध्ये विद्युत् अवरोध, ट्रान्सफर्मर बिग्रिएको, पोल तथा मिटर अभाव, भूमिगत विद्युत् जडानलगायतका समस्या प्रमुख रहेका छन्।
यस्तै, संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले शून्य तथा विशेष समयमा उठाएका ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित गुनासोहरू पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले ‘सुशासन इकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ। उक्त इकाइले मन्त्रालय तथा मातहतका निकायका कर्मचारीको कार्यसम्पादन, जिम्मेवारी निर्वाह, कानुनी समयसीमा पालना र सेवा प्रवाहको प्रभावकारिताको नियमित अनुगमन तथा मूल्यांकन गरिरहेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकता दिँदै सेवा प्रवाह सुधार, गुनासो व्यवस्थापन र कर्मचारीको उत्तरदायित्व अभिवृद्धिमा जोड दिएको जनाएको छ।





