काठमाडौँ :- नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रश्न उठाउने सांसदहरूलाई ‘फाइल खोल्ने’ चेतावनी दिएको भन्दै कडा आपत्ति जनाएको छ।
आइतबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै समय लिएर बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाइन्। उनले विपक्षीलाई धम्क्याउने शैली लोकतान्त्रिक अभ्यासअनुकूल नभएको टिप्पणी गरिन्।
“अर्थमन्त्रीले कसको फाइल खोल्ने धम्की दिनुभएको हो ? यदि फाइल खोल्ने नै हो भने सबैभन्दा पहिले गिरिबन्धु टी–स्टेट, ओम्नी, यति र वाइडबडी प्रकरणका फाइल खोल्नुस्,” अर्यालले भनिन्।
उनले सांसदहरूलाई धम्की दिने खालको अभिव्यक्ति खेदजनक भएको बताउँदै सरकारले पारदर्शिता र जवाफदेहिताका आधारमा काम गर्नुपर्ने धारणा राखिन्।










