काठमाडौँ :- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत सीमा सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक परे दुवै देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतार लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गरेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सीमा सुरक्षा कुनै पनि राष्ट्रको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको आधार भएको बताइन्। “आवश्यक परे दुई देशबीच सहमति गरेर सीमामा पर्खाल निर्माण गरियोस्, अन्यथा काँडेतार भए पनि लगाइयोस्,” उनले भनिन्।
सांसद तामाङले राज्यले आफ्नो भूभागको रक्षा गर्न नसके त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउने उल्लेख गर्दै सीमा सुरक्षामा सरकार गम्भीर हुनुपर्ने धारणा राखिन्।
उनले नेपाल सरकारले सीमासम्बन्धी सम्पूर्ण तथ्यहरूको छानबिन गरी आवश्यक कूटनीतिक पहलमार्फत सीमा विवाद समाधानको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन्।
लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता क्षेत्र नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका संवेदनशील विषय भएको उल्लेख गर्दै उनले ती क्षेत्रमा नेपालको दाबीलाई दृढतापूर्वक स्थापित गर्न सरकारलाई आग्रह गरिन्।










