काठमाडौँ :- सांसद महावीर पुनले बाँदर आतंकको समस्या केवल संसद्मा आवाज उठाएर समाधान नहुने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले आफूले सात वर्षअघिदेखि नै यो विषय उठाउँदै आएको तर प्रभावकारी समाधान खोज्न नसकिएको बताए।
उनले राष्ट्रिय आविष्कार केन्द्रमार्फत बाँदर आतंक नियन्त्रणका लागि ५०–६० लाख रुपैयाँ बराबरको अनुसन्धान प्रयास गरिएको जानकारी दिए। पुनले स्थानीय तहलाई पनि अनुसन्धानमा लगानी गर्न आग्रह गरेको उल्लेख गरे।
उनले भने, “मैले हरेक गाउँपालिकालाई एक–एक लाख रुपैयाँ उठाएर बाँदर आतंक कम गर्ने उपायबारे अनुसन्धान गर्नुपर्छ भनेको थिएँ। यहाँ संसद्मा कराएर मात्र हुँदैन।”
पुनले बाँदर भगाउने प्रभावकारी प्रविधि संसारभर खोज्दा पनि सहज समाधान नभेटिएको उल्लेख गर्दै यसका लागि अनुसन्धानमा विशेष बजेट छुट्याउनुपर्ने आवश्यकता औँल्याए।




