काठमाडौँ :- सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले वार्ता र संवादमार्फत सीमा विवाद समाधान गरी अवरुद्ध कर्णाली राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग गरे । उनले राजमार्ग अवरुद्ध हुँदा बिरामी, विद्यार्थी तथा अत्यावश्यक काममा हिँड्ने नागरिक प्रभावित भएको बताए ।
सांसद केपी खनालले हुम्ला–बाजुरा सीमा क्षेत्र रानीसिंहमा देखिएको विवादका क्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालसहितको टोलीमाथि दुर्व्यवहार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले साइपाल क्षेत्र जडीबुटी तथा वन्यजन्तुको महत्वपूर्ण भण्डार भएकाले अवैध तस्करी नियन्त्रण गर्न प्रहरी चौकी स्थापना गर्न खोज्दा समस्या उत्पन्न भएको बताए ।
सांसद जनकराज गिरीले जेठ ४ गते हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सीमा विवाद तत्काल समाधान गर्न माग गरे ।
यसैगरी, सांसद निस्कल राईले प्रतिपक्षले सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोज्दा पनि सरकारले संसद्को मर्यादा पालना नगरेको आरोप लगाए ।
सांसद अशोक चौधरीले जेनजी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाका दमकल र एम्बुलेन्स क्षति भएको उल्लेख गर्दै तत्काल नयाँ साधन उपलब्ध गराउन माग गरे ।
सांसद वासना थापाले दैलेखको गुराँस गाउँपालिका–७ मा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएको घटनाप्रति नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराइन् । सांसद शोभा खनालले गोरखाका केही पालिकामा विद्युत् समस्या रहेको भन्दै समाधान गर्न आग्रह गरिन् ।




