काठमाडौँ :- खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएपछि सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाले आवेदन दिएका छन्।
आवेदन दिनेहरूमा विश्वविद्यालयका कार्यरत प्राध्यापक, विभिन्न शैक्षिक संस्थामा कार्यरत तथा सेवा निवृत्त कर्मचारीहरू रहेका छन्। गत वैशाख २५ गते उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो।
सरकारले अध्यादेशमार्फत उपकुलपतिहरूलाई पदमुक्त गरेपछि हाल खुला प्रतिस्पर्धाबाट नयाँ उपकुलपति नियुक्त नभएसम्म दैनिक प्रशासनिक जिम्मेवारी पूर्वरजिष्ट्रार प्राध्यापक यज्ञराज पाठकलाई दिइएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार उपकुलपतिका लागि आवेदन दिनेमा एक जना महिला पनि छन्। सचिवालयले देशभरका आठ विश्वविद्यालयको उपकुलपति पदका लागि २०० भन्दा बढी आवेदन परेको जनाएको छ।
प्रारम्भिक मूल्यांकनपछि उच्च अंक प्राप्त गर्ने १० जनाको ‘सर्टलिस्ट’ सार्वजनिक गरिने तयारी गरिएको छ।
वि.सं. २०६७ मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले हाल महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पससहित सुदूरपश्चिमका नौ जिल्लामा १६ वटा आंगिक क्याम्पस सञ्चालन गरिरहेको छ। साथै, विभिन्न प्रदेशमा सम्बन्धन प्राप्त ३१ वटा निजी तथा सामुदायिक क्याम्पस पनि सञ्चालनमा रहेका छन्।




