काठमाडौँ :- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले कृषि, वैदेशिक रोजगारी, शिक्षा, ऊर्जा, स्वास्थ्य, यातायातलगायत जनजीविकासँग जोडिएका विभिन्न विषय उठाएका छन्।
सांसद अच्युतम लामिछानेले वर्षा सुरु भएसँगै धान रोप्ने समय नजिकिएकाले किसानलाई समयमै मल, बीउ र कृषि औजार उपलब्ध गराउन सरकारसँग माग गरे। सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण गराइन्।
सांसद अप्सना बानुले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन कठिनाइ हुने गरेको उल्लेख गर्दै श्रमिकको सुरक्षामा सरकार गम्भीर बन्नुपर्ने बताइन्। सांसद आर्यन राईले ‘फ्रि टिकट, फ्रि भिसा’ नीति व्यवहारमा लागू नभएको भन्दै छानबिनको माग गरे।
सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुदन गुरुङको सम्पत्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए भने सांसद अमृता विकले अदालतसँग नबाझिने गरी सरकारी निर्णय लिन सुझाव दिइन्।
ऊर्जा, पूर्वाधार र यातायातका विषय पनि सांसदहरूले उठाए। सांसद अम्बिकादेवी सङ्ग्रौलाले स्वदेशी ऊर्जाको उपयोग बढाउन आग्रह गरिन् भने सांसद आशीष गजुरेलले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन माग गरे।
सांसद आशिका तामाङले धादिङ खण्डको राजमार्ग सुधार तथा विद्युतीय सवारीका लागि पर्याप्त चार्जिङ स्टेशन निर्माण गर्न माग गरिन्। सांसद कबिन्द्र बुर्लाकोटीले गोरखामा बारम्बार विद्युत् अवरोध हुने समस्या समाधान गर्न आग्रह गरे।
शिक्षा क्षेत्रमा सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताइन्। उनले भौतिक उपस्थितिलाई मात्र सिकाइको आधार मान्ने प्रवृत्तिमाथि प्रश्न उठाइन्।




