काठमाडौँ :- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विश्वास नै राजनीतिक शक्तिको सबैभन्दा ठूलो आधार भएको बताएकी छन्।
आज ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टी र जनताबीच दूरी बढेमा राजनीतिक आन्दोलनको मर्म कमजोर हुने धारणा व्यक्त गरिन्।
उनले जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्नेमा जोड दिँदै राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान भएको मान्यतालाई स्थापित गर्न निरन्तर क्रियाशील रहनुपर्ने बताइन्।
साथै, मदन–आश्रितको स्मृतिमा आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न प्रेरणा लिनुपर्ने उनले उल्लेख गरिन्।




