काठमाडौँ :- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानाजान संसद्को अवहेलना गरेको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वता वा कमजोरीका कारण नभई नियतवश भएको दाबी गरे ।
महामन्त्री पौडेलले सरकार अत्यधिक रूपमा केन्द्रिकृत हुँदै गएको आरोपसमेत लगाए । उनका अनुसार राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण तथा विशेष अनुसन्धानजस्ता संवेदनशील निकायहरू प्रधानमन्त्री केन्द्रित बनाइँदा शक्तिको सन्तुलन कमजोर बन्ने खतरा बढेको छ ।
संवैधानिक परिषद्को संरचनामा गरिएको परिवर्तनप्रति पनि उनले असन्तुष्टि जनाए । ६ सदस्यीय परिषद्मा ३ जनाले बहुमत पुग्ने व्यवस्था विश्वमै दुर्लभ अभ्यास भएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीमा ‘म नै सबैथोक हुँ’ भन्ने सोच हाबी हुँदै गएको टिप्पणी गरे ।
उनले यस्तो प्रवृत्तिले अन्ततः लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने चेतावनी दिए ।




