काठमाडौँ :- काठमाडौँ, जेठ ४ — शिशिर खनाल ले स्थानीय तहले तत्कालीन राजनीतिक लाभभन्दा दीर्घकालीन विकास योजनामा ध्यान दिनुपर्ने बताएका छन् ।
टोखा नगरपालिका ले आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी सुझाव सङ्कलन कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
मन्त्री खनालले अहिलेका जनप्रतिनिधिसँग आगामी २०–२५ वर्षपछि पनि नागरिकले सम्झिने खालका काम गर्ने अवसर रहेको बताए । उनले योजनाहरू अल्पकालीन राजनीतिक उद्देश्यभन्दा माथि उठेर बनाइनुपर्नेमा जोड दिए ।
टोखाको दक्षिणी क्षेत्र घना बस्तीले भरिएको र उत्तरी क्षेत्रमा अझै खुला जमिन रहेकाले व्यवस्थित सहरी विकास आवश्यक रहेको उनको भनाइ थियो । उनले टोखाको ऐतिहासिक नेवारी बस्ती र शनिबार लाग्ने परम्परागत बजारलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । साथै, टोखामा होमस्टे सञ्चालनको सम्भावना रहेको उल्लेख गरे ।
टोखा–छहरे सुरुङमार्ग विस्तारले स्थानीय बस्ती प्रभावित हुन सक्ने भन्दै मन्त्री खनालले वैकल्पिक मार्ग खोज्नुपर्ने बताए । साङ्ला खोला र विष्णुमती खोला करिडोरलाई वैकल्पिक सडकका रूपमा विकास गर्न सकिने उनको सुझाव थियो । उनले नगरपालिकाका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै कर तिर्ने र सिफारिस लिने काम घरबाटै गर्न सकिने डिजिटल प्रणाली लागू गर्नुपर्ने बताए ।




