काठमाडौँ :- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार २९ जना सवारीचालक ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने ५९, नियमविपरीत राइड सेयरिङ गर्ने ११९, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३२ तथा तीव्र गतिमा सवारी चलाउने २०८ जनामाथि कारबाही गरिएको हो।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार १३९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।




