काठमाडौँ :- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
विज्ञप्ति जारी गर्दै उनले दुई नेताको रहस्यमय निधनले नेपाली कम्युनिष्ट आन्दोलन र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
माधव नेपालले मदन भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक तथा सिद्धान्तकारका रूपमा स्मरण गर्दै उनले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले नेपाली क्रान्तिलाई मौलिक दिशा दिएको उल्लेख गरेका छन्। विश्वव्यापी रूपमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला भण्डारीको विचारले नेपालमा कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
त्यस्तै, जीवराज आश्रितले पार्टीको विधि, पद्धति र संगठन निर्माणमा पुर्याएको योगदानलाई पनि उनले विशेष रूपमा स्मरण गरेका छन्।





