काठमाडौँ :- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको बहसको समय अपर्याप्त रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।
उनले नीति तथा कार्यक्रममा मोबाइलजस्ता आधारभूत प्रविधिको पहुँच विस्तारबारे स्पष्ट योजना नदेखिएको भन्दै सरकारको सोच अझै भुइँतहका नागरिकसम्म पुग्न नसकेको टिप्पणी गरे ।
आङ्देम्बेले डिजिटलाइजेसनको चर्चा भइरहे पनि गाउँघरका सामान्य नागरिकलाई प्रविधिसँग जोड्ने विषयमा पर्याप्त ध्यान नदिइएको बताए । उनले भने, “प्रविधिमार्फत देशभरका गरिब किसानलाई जोड्ने बाटोमा हामी पछि हट्ने अवस्था देखिएको छ ।”
दुईतिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई व्यवस्थित र जनमुखी बनाउन नसकेको उल्लेख गर्दै उनले यसलाई दुर्भाग्यपूर्ण अवस्था भने । साथै, आगामी बजेटमार्फत यस्ता कमजोरी सच्याउन सरकारलाई आग्रह गरे ।
उनले सरकारका योजना मध्यमवर्ग र उच्चवर्गमा मात्र केन्द्रित नभई गरिब, किसान र मजदुर लक्षित हुनुपर्नेमा जोड दिए ।




