
काठमाडौँ :- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ४ दशमलव १५ अंकले घटेर २ हजार ७४० दशमलव २५ विन्दुमा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ७० अंकले घटेर ४६७ दशमलव ५५ मा पुगेको छ।
आज कुल ३३९ कम्पनीका ५६ लाख ४३ हजार २८८ कित्ता शेयर दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँमा खरिद–बिक्री भएका छन्।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेका छन्।
त्यस्तै, एशियन हाइड्रोपावर, एसवाई प्यानल, हिमालयन बैंकको बण्ड, एनआइसी एशिया ग्रोथ फण्ड–२ र सेञ्चुरी डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।
धौलागिरि लघुवित्त, झापा इनर्जी, सिटिजन बैंकको ऋणपत्र, रिज लाइन इनर्जी र आरबिबी फोकस–४० का लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोरेका छन्।



