काठमाडौँ :- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (राई) ले प्रधानमन्त्रीको कार्यशैली र संसद् बैठकमा अनुपस्थितिलाई लिएर असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका छन्।
प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफदेही हुनुपर्ने विषयहरूमा अन्य प्रतिनिधिलाई पठाउने गरिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
बैठक बहिष्कारपछि प्रतिक्रिया दिँदै साम्पाङले भने, “प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने र टेबल गर्नुपर्ने विषयहरूमा अरूलाई पठाउने गरिएको छ। मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएकाले हामीले विरोधस्वरूप बैठक बहिष्कार गरेका हौँ।”
उनले नीति तथा कार्यक्रम तथा बजेटजस्ता गम्भीर विषयमा सांसदहरूलाई पर्याप्त अध्ययन समय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। “आज ठेलीका ठेली किताब दिने र भोलि नै पढेर आउनु भन्ने शैली उचित छैन,” उनले भने।




