काठमाडौं :- भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका स्कुल बसलाई ‘स्कुल बस निर्देशिका, २०७४’ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले तीन दिन लगाएर महानगर क्षेत्रमा सञ्चालित विद्यालय बसहरूको यान्त्रिक तथा चालकहरूको स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणका क्रममा धेरै बसमा निर्देशिका कार्यान्वयन नभएको पाइएपछि तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार १४४ वटा विद्यालय बसको यान्त्रिक परीक्षण गरिएको थियो । परीक्षणका क्रममा नियमित मर्मत नगरिएको, टायर समयमै परिवर्तन नगरिएकोलगायत समस्या भेटिएको उनले बताए ।
त्यस्तै, धेरै बसमा फोहर फाल्ने डस्टबिन, अग्नि नियन्त्रण यन्त्र तथा प्राथमिक उपचार सामग्रीसमेत नभएको पाइएको प्रहरीले जनाएको छ ।
विद्यालयले सञ्चालनमा ल्याएका २५ वटा पुराना बसको वायुप्रदूषण परीक्षण गर्दा आठ वटा बसबाट अत्यधिक धुवाँ उत्सर्जन भएको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिए ।




