काठमाडौँ :- भारतको जङ्गलबाट नेपाल प्रवेश गर्ने हात्तीको बथानका कारण मेचीनगर का सीमावर्ती बस्तीमा त्रास फैलिएको छ ।
विशेषगरी बाहुनडाँगी क्षेत्रमा हात्तीले किसानको पाक्न लागेको मकैबाली खाएर सखाप पार्नुका साथै सुपारीका बोटसमेत भाँचिदिएको स्थानीयले बताएका छन् ।
स्थानीय जनप्रतिनिधिका अनुसार एक सातादेखि हरेक रात ३० देखि ४० वटा हात्ती नेपाल प्रवेश गरिरहेका छन् । हात्तीका कारण केही महिनाभित्रै तीन जना घाइते भएका छन् भने १५ वटा घरमा समेत क्षति पुगेको छ ।
हात्ती रोक्न सीमामा लगाइएको १८ किलोमिटर लामो सौर्य तारबार मर्मत गर्ने तयारी भइरहेको छ । यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र नगरपालिकाले संयुक्त रूपमा बजेट विनियोजन गरेका छन् ।




