काठमाडौँ :- सरकारले नदीजन्य तथा खानीजन्य पदार्थको जथाभावी उत्खनन नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ढुङ्गा, गिटी, बालुवा, माटोलगायत पदार्थको उत्खनन तथा ओसारपसार कानुनबमोजिम मात्र गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार अवैध उत्खनन र अनधिकृत ढुवानीका गतिविधि बढ्दै गएको सूचनापछि गृह मन्त्रालयसहित विभिन्न मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई पत्र पठाइएको हो ।
निर्देशनमा नदी, खोला, वन क्षेत्र, खेतीयोग्य जमिन र बस्ती क्षेत्रमा वातावरणीय क्षति नहुने गरी मात्रै उत्खनन गर्न भनिएको छ । स्थानीय तहलाई उत्खननको समय बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म तोक्न पनि भनिएको छ ।
त्यस्तै, श्रमिक सुरक्षा, वातावरण संरक्षण र स्थानीय समुदायको हितलाई प्राथमिकता दिन तथा राजस्व चुहावट रोक्न वास्तविक कारोबार मूल्यमा बीलबिजक जारी गर्न आग्रह गरिएको छ ।




