काठमाडौँ :- सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी भएपछि रिक्त रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा स्वास्थ्य बिमा बोर्डमा निमित्त निर्देशक नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रशासनिक काम र स्वास्थ्य सेवा सञ्चालनलाई सहज बनाउनका लागि अस्थायी रूपमा निमित्त नेतृत्व तोकेको जनाएको छ ।
मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्रा. डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्रा. डा. विनम्र विष्ट नियुक्त भएका छन् ।
त्यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्रा. डा. इन्द्र लिम्बू, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सहप्रा. डा. सुरेश रसाइली र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डा. उमेश नेपाल निमित्त निर्देशक बनेका छन् । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सहप्रा. डा. रविन्द्र भक्त तिमला र स्वास्थ्य बिमा बोर्डमा शकुन्तला प्रजापति नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निसा मेहताका अनुसार ती संस्थाहरूको दैनिक सेवा प्रभावित हुन नदिन अस्थायी रूपमा निमित्त नेतृत्व तोकिएको हो । उनले छिट्टै खुला प्रतिस्पर्धामार्फत स्थायी नेतृत्व चयन प्रक्रिया अघि बढाइने जानकारी पनि दिइन् ।




