काठमाडौँ :- पूर्वसञ्चारमन्त्री तथा रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै गल्ती नगरेको र डर नरहेको दाबी गरेका छन् ।
सञ्चारमन्त्री हुँदा स्मार्ट टेलिकमको अर्बौं रुपैयाँ हिनामिना गरेको भन्दै आएका समाचारप्रति प्रतिक्रिया दिँदै उनले ती आरोप अस्वीकार गरेका छन् ।
‘गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यका लागि पर्याप्त छ,’ उनले भनेका छन् ।
ललितपुर–२ बाट निर्वाचित सांसद खरेलले आफूविरुद्ध भ्रामक र कपोलकल्पित आरोप लगाइएको भन्दै चरित्रहत्या र राजनीतिक भविष्यमा प्रहार गर्ने प्रयास भइरहेको बताएका छन् । उनले आवश्यक परे कानुनी उपचार खोज्ने पनि स्पष्ट पारेका छन् ।
यस्तो छ खरेलको प्रष्टोक्ति :
अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नुहोला । अहिले म कार्यक्रमको सिलसिलामा स्वीट्जरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानूनी उपचार खोज्ने छु…




