काठमाडौँ :- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा वामपन्थी दलले भोगेको पराजयसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भन्ने विश्लेषणलाई गलत बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुने इतिहास रहेको उल्लेख गर्दै अघिल्लो निर्वाचनमा मात्र वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको स्मरण गराएका छन् ।
पोखरेलका अनुसार नेपालको वामपन्थको भविष्य कुनै एक निर्वाचन परिणामले होइन, यसको एजेन्डा, जनतासँगको सम्बन्ध र राष्ट्रहितमा केन्द्रित गतिविधिबाट निर्धारण हुन्छ । उनले हालको पराजयलाई केवल वामपन्थको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूको हारका रूपमा लिनुपर्ने बताएका छन् ।
उनले लोकतान्त्रिक शक्तिहरूलाई हारको कारण खोजी गर्दै गम्भीर समीक्षा, पुनर्जागरण र पुनर्गठनमार्फत सुरक्षित लोकतान्त्रिक भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । साथै संकट र चुनौतीलाई अवसरमा बदल्नुपर्ने उनको भनाइ छ ।




