काठमाडौँ :- नेपाल उद्योग वाणिज्य महासंघ को अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन्। अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन्।
महासंघको ६०औँ वार्षिक साधारणसभापछि सुरु भएको निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएसँगै उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी भएका छन्।
नवनिर्वाचित नेतृत्वले निजी क्षेत्र सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।
यसैबीच, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था यस कार्यकालसँगै अन्त्य हुने र आगामी महाधिवेशनबाट अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने जानकारी दिइएको छ।




