काठमाडौँ :- बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो। नयाँ संरचनाअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ मन्त्रालय रहनेछन्।
यस निर्णयसँगै १९८ मातहतका कार्यालयमध्ये करिब ५० वटा घटाइने छन्, जसले करिब ५ अर्ब रुपैयाँ चालु खर्च बचत हुने अनुमान गरिएको छ। उक्त बचत रकम पूँजीगत क्षेत्रमा लगानी गरिने सरकारको तयारी छ।
यो निर्णय आगामी आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुनेछ भने हालको मन्त्रिपरिषद् यही आर्थिक वर्षसम्म यथावत् रहनेछ।




