पाटन :- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि उठेका सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा निष्पक्ष र न्यायोचित छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री बानियाँको अध्यक्षतामा जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा बसेको बैठकले छानबिन प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा जोड दिएको हो ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग र भौगोलिक अवस्थालाई आधार बनाइने निर्णय पनि बैठकले गरेको प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिएका छन् ।




