काठमाडौँ :- आज नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२ अंकमा पुगेको छ। अघिल्लो दिन ३४ अंकले घटेको बजार आज सुधारिएको हो। कारोबारका क्रममा दिउँसो १२:४० बजे नेप्से २७२५ अंकसम्म पुगे पनि टिक्न सकेन, जुन दिनकै उच्च बिन्दु रह्यो।
आज कुल कारोबार रकम घटेर ३ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ४ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो। बजारमा १६२ कम्पनीको शेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो भने १६ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत रूपमा हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढ्यो। त्यसपछि बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशतले उकालो लागे। यता विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०६, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशतले घटे।
कम्पनीगत रूपमा माथिल्लो लोहोरेखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ११.१६ प्रतिशतले बढ्यो। सोलु हाइड्रोपावर ७.५६, धौलागिरि लघुवित्त ७.०४ र झापा इनर्जी ४.८० प्रतिशतले बढे। यता फर्वाड माइक्रोफाइनान्स ९.३१ प्रतिशतले घट्दा सुपरखुदी हाइड्रोपावर ३.१३ र रावा इनर्जी ३ प्रतिशतले ओरालो लागे।




