काठमाडौँ :- दक्षिण भारतीय सिने जगतका सुपरस्टार थलापति विजयले तमिलनाडु विधानसभा चुनावमा सबैलाई चकित पार्ने प्रदर्शन गरेका छन्।
उनको पार्टी तमिलागा भेट्टी कझगम (टीभीके) ले प्रारम्भिक परिणाममा सत्तारुढ दल द्रविड मुन्नेत्र कझगम (डीएमके) लाई पछि पार्दै अग्रता लिएको बताइएको छ।
रिपोर्टअनुसार टीभीके १११ सिटमा अगाडि छ भने डीएमके ५८ सिटमा अग्रस्थानमा छ। विजय आफैं पेराम्बुर र तिरुचिरापल्ली सिटमा आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा करिब १२ हजार मतले अगाडि रहेको जनाइएको छ।
चलचित्रमा सफल करियर बनाएका विजय पछिल्लो समय राजनीतिमा सक्रिय भएका हुन्। गत वर्ष करूरमा भएको एक पार्टी र्यालीमा भएको भागदौडमा ३९ जनाको मृत्यु भएपछि उनी पुनः चर्चामा आएका थिए। उक्त घटनापछि उनले मृतकका परिवारलाई राहत र घाइतेलाई क्षतिपूर्ति घोषणा गरेका थिए।
फिल्मी जीवनबाट राजनीतिमा प्रवेश गरेका विजयको यो यात्रा अहिले तमिलनाडु राजनीतिक परिदृश्यमा ठूलो चासोको विषय बनेको छ।




