काठमाडौँ :- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ पुनर्विचारका लागि फिर्ता भएपछि पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले उक्त जानकारी दिएका छन्।
बैठकले उद्योगमा परम्परागत ‘बोइलर’लाई ‘इलेक्ट्रोनिक बोइलर’ले प्रतिस्थापन गर्न कर्जा उपलब्ध गराउने र वायु गुणस्तर मापन क्षमता अभिवृद्धिका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियत ऋण तथा पाँच मिलियन डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, भारतसँग जिटुजी (सरकार–सरकार) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिइएको छ।
यसैबीच, मन्त्रिपरिषद्ले संसद् भवन परिसरमा प्रवेशलगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि स्वीकृत गरेको जनाएको छ।




