काठमाडौँ :- सरकारले देशव्यापी विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका बेला बझाङका दर्जनौं विद्यालय भने यार्चा संकलनका कारण बन्द भएका छन्।
विद्यार्थीहरू यार्चा टिप्न लेकतिर लागेपछि सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय, साथै तलकोट, मस्टा, केदारस्युँ गाउँपालिका तथा बुंगल र जयपृथ्वी नगरपालिकाको उत्तरी भेगका विद्यालय जेठ मसान्तसम्मका लागि बन्द गरिएको छ। स्थानीयका अनुसार यस क्षेत्रमा ५० भन्दा बढी विद्यालय बन्द छन्। ती विद्यालयमा असार १ गतेदेखि मात्रै भर्ना प्रक्रिया सुरु हुनेछ।
यस क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्चा भएकाले साना बालबालिकादेखि वृद्धवृद्धासम्म यार्चा संकलनमा लाग्ने गरेका छन्। विद्यालय बन्द भएपछि शिक्षकसमेत विद्यार्थीसँगै पाटनतर्फ उक्लिएको स्थानीयले बताएका छन्।




