काठमाडौँ :- मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बोलाइएको छ। बैठकमा मन्त्रालय मर्ज र खारेजसम्बन्धी प्रस्तावित खाकाबारे छलफल हुने स्रोतले जनाएको छ।
सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ नामकरण गर्ने तयारी अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार हालका चार मन्त्रालय खारेज गर्ने योजना छ भने अन्य ६ मन्त्रालयको नाम परिवर्तन गर्ने काम अन्तिम चरणमा पुगेको छ।
स्रोतका अनुसार केही मन्त्रालयलाई हालको संरचनाबाट छुट्टाएर प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव पनि रहेको छ। उक्त खाका आजको मन्त्रिपरिषद् बैठकमा पेश हुने जनाइएको छ।
मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका तयार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले संघीय तहमा १७ मन्त्रालय कायम गर्ने प्रस्ताव दिएको थियो, जसकै आधारमा सरकारले तयारी अघि बढाएको हो।




