काठमाडौँ :- नेपाली कांग्रेसका सभापति गगन थापा ले लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस भएको बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै उनले बदलिँदो परिवेशमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य झन् चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेका छन्। विभिन्न किसिमका दबाब र असुरक्षाका बीच पनि सत्यको पक्षमा उभिने सञ्चारकर्मीप्रति उनले सम्मान व्यक्त गरेका छन्।
थापाले प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकको जान्न पाउने अधिकारको संरक्षणका लागि भएको स्पष्ट पारे। सत्य लेखेकै आधारमा कसैले पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व रहेको उनको भनाइ छ।
उनले सम्पूर्ण सञ्चारकर्मीलाई विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।




