काठमाडौँ :- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा भन्सार कडाइका कारण स्थानीय बासिन्दाले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराइने बताएका छन्।
पार्टी कार्यालय सानेपामा आयोजित ‘ग्रिन टेबल’ को पहिलो शृंखलामा बोल्दै उनले भन्सार कडाइले सीमा क्षेत्रमा बस्ने नागरिकको दैनिक जीवनयापनमै असर परेको उल्लेख गरे। यस विषयमा सदनसहित विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गरिने उनले बताए।
थापाका अनुसार भन्सार कडाइका क्रममा सुरक्षाकर्मीबाट हुने व्यवहारले स्थानीय नागरिकको आत्मसम्मानमा समेत चोट पुगेको देखिएको छ। उनले कडाइका नाममा नागरिकलाई अनावश्यक दुःख दिने कार्य नगर्न सरकारलाई सुझाव दिए।
सीमामा देखिने अव्यावहारिक अभ्यासहरू अन्त्य गर्नुपर्ने भए पनि त्यसलाई व्यावहारिक रूपमा समाधान गर्नुपर्ने उनले बताए। साथै, कांग्रेस सरकारमै रहेका बेला साना सामानमा कर लगाउने प्रस्ताव आएको प्रसंग उल्लेख गर्दै जनदबाबपछि त्यसबाट पछि हट्नुपरेको पनि स्मरण गरे।




