काठमाडौँ :- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक अधिकारहरूको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले आठ घण्टा कार्यदिनको मागसहित अमेरिकाको शिकागोमा भएको ऐतिहासिक मजदुर आन्दोलनको स्मरण गरेका छन्।
सन्देशमा उनले पार्टी श्रमिक वर्ग—विशेषतः किसान, मजदुर र सुकुमबासी—का हक, हित र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। साथै, श्रमको सम्मान, उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकमैत्री नीतिहरू सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
उनले ट्रेड युनियन अधिकारसहित अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संरक्षणमा कुनै पनि संकुचनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता विषयमा सरकार संवेदनशील, जिम्मेवार र उत्तरदायी बन्नुपर्ने बताएका छन्।




