काठमाडौँ :- सुकुमबासीको विवरण मागेर स्थानीय तहलाई पत्राचार गरिएको विषयमा नेपाली सेनाले प्रष्टीकरण सार्वजनिक गरेको छ। सेनाले मनसुनजन्य सम्भावित विपद्का बेला उद्धार, राहत वितरण र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन विवरण संकलन गरिएको जनाएको छ।
जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सम्भावित जोखिम नक्साङ्कन तथा तथ्यांक अद्यावधिक गरी राहत, उद्धार र पुनर्स्थापनालाई सहज बनाउने उद्देश्य रहेको स्पष्ट पारेको छ।
विगतका विपद्का घटनालाई आधार मानेर बाढी, पहिरो र नदी कटानबाट हुनसक्ने जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी योजना बनाउने काम भइरहेको सेनाले जनाएको छ। साथै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय तथा भौतिक क्षति कम गर्ने तयारी जारी रहेको उल्लेख गरेको छ।





